बागलुङ, १२ कात्तिक । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्थिरता र विकासको जनमत संग्रह भएको एमाले नेताहरुले बताएका छन् । नेकपा (एमाले)ले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत शुक्रवार काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका विभिन्न ७ ठाउँमा आयोजित टोलभेलामा बोल्ने नेताहरुले यस्तो बताएका हुन् ।
स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास सम्भव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न नेताहरुले मतदाताहरुसँग आह्वान गरेका हुन् ।
राष्ट्रियताको संरक्षण, नागरिकता विधेयकलगायत राष्ट्रहितका विषयमा एमालेको स्पष्ट अडानलगायत विकास निर्माणका क्षेत्रमा एमाले नेतृत्वको सरकारले गरेका दीर्घकालीन योजनाहरुलाई पूरा गर्नका लागि पनि एमालेको सरकार आवश्यक रहेको एमाले पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मनकुमारी केसी जिसीले बताइन् ।
एमाले केन्द्रीय सदस्य सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमा एमाले नेतृत्वमा भएका कामहरुका आधारमा एमालेका उमेदवारलाई जिताउन मतदाताहरुसँग आह्वान गरे ।
प्रतिनिधिसभा क्षेत्र नंम्बर १ मा एमालेका उमेदवार तथा पार्टीका केन्द्रीय सदस्य डा.सूर्य पाठकले मुलुक निर्माणका हरेक सवालमा एमाले र अन्य दलहरुले गरेका कामहरुको यथार्थ विश्लेषण गरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।
बागलुङको विकास निर्माणलगायत राष्ट्रिय हितका विषयमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि र अन्य दलका प्रतिनिधिले गरेका कामहरुको तुलना गर्न आम बुद्धिजीवीहरुलाई आह्वान गरे ।
एमालेका विरुद्ध राजनीतिक रुपमा भएका घेरावन्दी र सामाजिक सञ्जालबाट भएका विरोधहरु नियोजित भएको भन्दै उनले यथार्थमा एमालेले गरेका र अन्य दलहरुले गरेका कामहरुको तुलना गर्न चुनौती दिए ।
प्रदेशसभाका उमेदवार तथा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले मुलुक परिवर्तनको एजेण्डा एमालेसँग मात्रै भएकोले जनताले एमालेका उमेदवारलाई विजयी गराउने विश्वास आफूले लिएको बताए ।
आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गठबन्धनले प्राप्त गरे, मुलुकको भविष्य दशकौँ पछि पर्ने दावी गर्दै केसीले भने, “गठबन्धन नेतृत्वले डेढ वर्षमा गरेका काम, मुलुकको अवस्था लगायतका विषयमा जनता जानकार छन् ।”