स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

40

काठमाडौँ, ३ कात्तिक । हास्यकाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकारी गरे ।

“मलाई अभिनय गर्न मन लाग्छ । तर, स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जबरजस्ती नै काममा व्यस्त बनाउँछु,” उनले भने । महापुरूष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ ।

उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन् । यद्यपि, महसञ्चारबाट बनेको भिडिओ सामाग्रीमा सकेको समय काम गरिरहेका छन् । “बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिश्रृंखलाबाट निर्देशकको सुरूवात गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ,” उनले भने ।

लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृष्य तयार गरिएको जानकारी दिए । “काठमाडौँमै छायांकन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठुलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ,” निर्देशक भट्टराईले भने ।

उनीहरूले यसअघि ‘शत्रु गते’मा काम गरेका थिए । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरूण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...