आगामी ५ वर्ष बाँकेमा विकास र समृद्धिको अभियानले गति लिन्छ : मन्त्री गहतराज

82

कोहलपुर, १ कात्तिक । युवा तथा खेलकुदमन्त्री एवं वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज (अथक)ले आगामी ५ वर्षमा यस क्षेत्रमा विकास र समृद्धिको अभियानले गति लिने बताएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति बाँके निर्वाचन क्षेत्र नम्बर १ (ख)को तर्फबाट आयोजित प्रथम बैठक तथा भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन् ।

उनले विगत ५ वर्षमा ठुला, मध्यम तथा साना आयोजनाको सुरुवात गरेर बाँकेमा विकासको आधार तयार गरिएको भन्दै आगामी ५ वर्षमा यसलाई पूर्णता दिइने बताए । वर्षौँदेखि अँध्यारोमा बस्न बाध्य १ नम्बर निर्वाचन क्षेत्रका नागरिकलाई विद्युतीकरणसँग जोड्न गरिएको प्रयत्नले पूर्णता पाएको बताउँदै गहतराजले राप्तीसोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोडेर विकासको मूलप्रवाहमा ल्याइएको बताए ।

सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा रहेको क्षेत्र नम्बर १ मा विद्यालय भवन, सडक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, सिक्टा सिंचाइ आयोजनालगायतका महत्वपूर्ण बहुआयामिक र बहुउद्देसीय आयोजनाहरूको सुरुवात भइसकेको उनले बताए ।

उनले वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराई विकासका अपुरा कामलाई तीव्रता दिनुपर्नेमा समेत जोड दिए । लोकतान्त्रिक व्यवस्था सफल पार्न र सर्वसत्तावादी सोच राख्नेहरुलाई असफल पार्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जनताले अनुमोदन गर्नेमा उनले विश्वास व्यक्त गरे ।

यस्तै, वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ (ख) को उम्मेदवार फुलाराम थारुले समग्र विकास, संविधान र अहिलेको व्यवस्थाको रक्षाका लागि पनि वाम–लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई जिताउनु पर्ने बताए ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को संयुक्त सार्थक पहल र ९ बुँदे सहमतिबाट अहिलेको व्यवस्था आएको स्मरण गर्दै संविधान र अहिलेको व्यवस्था रक्षा गर्ने जिम्मेवार वाम–लोकतान्त्रिक गठबन्धनको भएकाले निर्धक भएर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन थारूले आग्रह गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदीले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन निर्देशन दिँदै केन्द्रमा भएको सहमतिको अक्षरश कार्यान्वयन गर्नुपर्ने बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...