दाङ, २६ असोज । दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी, नेकपा (एमाले)बाट शान्ता चौधरी र हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो ।
उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लागेका थिए भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरी हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
उम्मेदवारी फिर्ता लिने समय आज बुधबार दिउँसो १ बजेसम्म रहेकोमा उनीहरूमध्ये कसैले पनि फिर्ता नलिएपछि तीन जना सहकर्मीबीच प्रतिस्पर्धा पक्का भएको हो । शान्ता र मेटमणि चौधरी थारू समुदायको आन्दोलनमा पनि सहकार्य गरेका नेता हुन् ।