काठमाडौँ, २६ असोज । गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा.माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छन् ।
२३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जनाएकी छन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएका छन् ।
उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएकी छन् । उनले भनेकी छन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जबाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्ने छु । गोरखा–२ मा कांग्रेसका पार्टी पूर्वसभापतिहरू, केही पूर्वसांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनुभएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’
उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि उम्मेदवारी दिएका छन् ।