काठमाडौँ, २६ असोज । रूपन्देही २ मा सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरूङको उम्मेदवारी खारेज गरिदिएको हो ।
एकीकृत समाजवादीले निकै संघर्षपछि मात्रै उक्त निर्वाचन क्षेत्र गठबन्धनबाट लिएको थियो । मुख्य प्रतिस्पर्धीको उम्मेदवारी नै खारेज भएपछि एमाले उम्मेदवार पौडेललाई सहज भएको देखिन्छ ।
गुरूङ बैंकिङ कसुरमा कालो सूचीमा रहेको भेटिएपछि उनको उम्मेदवारी खारेज भएको हो । तोकिएको अवधिमा गुरूङले कालो सूचीबाट हटेको प्रमाण पेस नगरेपछि जिल्ला निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
गुरूङसँगै अन्य दुई स्वतन्त्र उम्मेदवारको उम्मेदवारी पनि खारेज भएको छ । स्वतन्त्र उम्मेदवार हिमाल बस्याल र हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ ।
यसअघि, एमालेले गरेको आन्तरिक अध्ययनमा गठबन्धन कायमै रहे रूपन्देही २ जित्न कठिन रहेको क्षेत्रमा राखेको थियो । अब मुख्य प्रतिस्पर्धीको उम्मेदवारी खारेज भएको र जनता समाजवादी पार्टीसँगको तालमेलका कारण पौडेललाई सहज देखिन्छ ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले सो क्षेत्रमा ३३ हजार १८७ मत ल्याएको थियो । कांग्रेसले ३४ हजार ९५९ मत ल्याएको थियो भने नेकपा (माओवादी केन्द्र)ले ३ हजार १९९ मत ल्याएको थियो । राप्रपाले ३ हजार ९२०, जसपाले १८३ र लोसपाले २५ मत ल्याएको थियो । एकीकृत समाजवादीले जम्म १ हजार ३८२ मत ल्याएको थियो । तर, पनि उक्त निर्वाचन क्षेत्र कांग्रेसले एकीकृत समाजवादीलाई छाडिदिएको थियो ।
गुरूङ सोही पार्टीका नेता झलनाथ खनालका छोरासहितले दिएको चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । गुरूङ अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फा प्रालिले २ करोड २५ लाख रूपैयाँ नतिरेको भन्दै अदालतमा उजुरी परेको थियो । २०७६ सालमै काठमाडौँ जिल्ला अदालतमा परेको उजुरीविरूद्धको फैसला हुँदा गुरूङसहित ६ जनालाई जनही २ हजार रूपैयाँ जरिबानासहित बिगो तिराउने भनिएको थियो ।
६ जनामध्ये एक हुन् झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल । उनीहरूले दिएको चेक सटही नभएपछि अदालतसम्म गरेका थिए ।