भारतमाथि दक्षिण अफ्रिकाको सान्त्वना जित

91

काठमाडौँ, १९ असोज । दक्षिण अफ्रिकाले भारतविरूद्धको तीन खेलको टी-२० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्‍यो । तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको दक्षिण अफ्रिकाले भारतलाई १८.३ ओभरमा एक सय ७८ रनमा समेट्दै जित हासिल गर्‍यो ।

दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव महाराजले दुई–दुई विकेट लिए । कागिसो रबडाले एक विकेट लिए ।

घरेलु टोलीका लागि दिनेश कार्तिकले सर्वाधिक ४६ रनको पारी खेले । यसबाहेक दीपक चहरले ३१, ऋषव पन्तले २७, उमेश यादवले अविजित २० तथा हर्षल पटेलले १७ रन बनाए ।

यसअघि रिले रुसोले अविजित शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पार्‍यो ।

४८ बल खेलेका रुसोले आठ छक्का र सात चौकासहित अविजित सय रनको इनिङ खेले । ओपनर क्विन्टन डी ककले ६८ रन बनाए । डी ककले ४३ बलमा चार छक्का र ६ चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि ट्रिस्टान स्टब्सले २३ तथा डेविड मिलरले अविजित १९ रनको योगदान गरे । स्टब्सले १८ बलमा एक छक्का र दुई चौका प्रहार गर्दा पाँच बल खेलेका मिलरले तीन छक्का हाने ।

भारतका दीपक चहर र उमेश यादवले एक–एक विकेट लिए ।

भारतले पहिलो दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो टी-२० अन्तर्राष्ट्रियमा १६ रनको जित हासिल गरेको घरेलु टोली भारतले दोस्रो खेल आठ विकेटले जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...