काठमाडौँ, ११ असोज । अन्जन विष्टको ह्याट्रिक मद्धतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालले पहिलो हाफमा तीन गोल गर्यो भने बंगलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे ।
राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८औँ मिनेटमा गोल गरे । विष्टले खेलको १८औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत् गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए ।
त्यस्तै, खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए ।
खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे । खेलको ५५औँ मिनेटमा बंगलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए ।
नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत् गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।
खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।