काठमाडौँ, ११ असोज । नेपालीहरूको महान चाड दसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजारमा अनुगमन सुरू गरेको छ । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा आजदेखि चाडपर्व बजार लक्षित अनुगमन सुरू भएको हो ।
आजै महानगरपालिकाले टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तरकारी तथा फलफुल बजारको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरूमा पनि अनुगमन गरेको छ ।
त्यसक्रममा केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको थियो । त्यसपछि कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री व्यवस्था हेरिएको थियो ।
उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समूह बजारमा अनुगमनका लागि परिचालित भएका छन् । “कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री रहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गर्दछौँ,” अनुगमनका क्रममा उपमेयर डंगोलले भनिन्, “हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईंहरूले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउँछौँ र आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौँ ।”
उपमेयर एवम् समितिकी संयोजक डंगोलले कानुन बराबर भएकाले बजारमा गलत गर्ने सबैलाई कारबाही गरिने धारणा राखिन् । “त्यसो भन्दैमा अनुगमनमा कारबाही नै गर्नुपर्छ भन्ने पनि होइन । सामान्य खालका समस्या गर्नेलाई सचेत बनाउने, सुधार गर्न मौका दिने र गम्भीर प्रकृतिको गल्ती गर्नेलाई कारबाही गर्ने हो । उपभोक्ताहरूलाई पनि जागरूक बनाउने हो,” उनले थप्दै भनिन्, “स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्छ । म उपभोक्ताहरूलाई आग्रह गर्न चाहन्छु । आफूले खरिद गर्ने सामानको उत्पादक को हो ? उत्पादन मिति कहिले हो ? उपभोग्य मिति कहिलेसम्म छ ? अधिकतम मूल्य कति हो ? सामग्री तयार हुँदा के–के मिसाइएको छ ? हेरेर मात्र खरिद गर्नुहोला । पर्वका समयमा अनुचित लाभ लिनेहरू पनि हुन सक्छन् भन्ने विषयमा सचेत हुनुपर्छ ।”
उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताए । “त्यस्तो भेटिएको ठाउँमा हामीले सजक गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै बिक्री गर्न भनेका छौँ ।”
खाद्य संस्थानको गोदाममा भएका चामलको म्यादका सम्बन्धमा संस्थानकी प्रादेशिक प्रमुख ज्ञानु थापाले उपभोक्तालाई म्याद सकिएका कुनै पनि सामान बेच्ने मनसाय नरहेको बताइन् । ‘म्याद सकिन लागेको हो, सकिएको होइन । यस्ता सामान व्यवस्थापन गर्न समय छ’ उनको भनाइ थियो ।
बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरू सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोरलगायत हेरिने बताइएको छ ।