काठमाडौँ, १ असोज । विज्ञान शिक्षक समाज नेपाल (STAN) लुम्बिनी प्रदेश कमिटीले राष्ट्रिय विज्ञान दिवसको अवसरमा निबन्ध प्रतियोगिताको नतिजा घोषणा तथा विज्ञान दिवस मनाएको छ ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक यामबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका माध्यमिक विद्यालयका ५० जना विद्यार्थीले निबन्ध लेखन प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये उत्कृष्ट ४ जनालाई पुरस्कृत गरिएको थियो ।
निबन्ध प्रतियोगितामा सैनामैना परौहा परमेश्वर नमुना माध्यमिक विद्यालय सैनामैना–१ रानीबगिया रूपन्देहीकी निकिता भण्डारी प्रथम, त्रिभुवन नमुना माध्यमिक विद्यालय कोहलपुर बाँकेकी ललिता धिताल द्वितीय, महेन्द्र माध्यमिक विद्यालय तम्घासका प्रविध पोख्रेल तृतीय तथा गोरखा मोडेल सेकेन्डरी स्कुल लमही–६ दाङकी स्वस्तिका रेग्मीले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४ हजार, ३ हजार, २ हजार र एक हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उनीहरूलाई प्रमाणपत्र मेलमार्फत् र नगद बैंक खातामा पठाइने संयोजक यमनाथ पौडेलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि केसीले अनलाइन माध्यममा यसरी प्रदेशका शिक्षक विद्यार्थीलाई जोडेर गरिएको कार्यक्रमको सरहाना गरे । उनले प्रदेशले विज्ञान तथा प्रविधिको विकासमा विविध कार्यक्रम ल्याएको जानकारी गराउँदै विज्ञान तथा प्रविधिको विकासमा सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने कुरा औँल्याए ।
स्टानका केन्द्रीय सदस्य त्रिलोचन चौधरीले स्टानले स्थापना कालदेखि विविध कार्यक्रम ल्याएको र आगाी दिनमा देशैभरका विज्ञान शिक्षकहरू स्टानमा आबद्ध भई विज्ञानको उत्थान र विकासमा सबै विज्ञानकर्मी लागि पर्नुपर्ने कुरा औँल्याए । सञ्चालक सुनिल थापाले विज्ञान दिवसको अलवा आगामी दिनमा शिक्षकको पेशागत विकासाको लागि पाठ्यक्रम, आइटम राइटिङ, शैक्षिक सामग्री निर्माण तथा नवप्रवर्द्धनका कार्यक्रम ल्याउने र त्यसको लागि सबै विज्ञान शिक्षक लागि पर्ने कुरा औँल्याए ।
जुममार्फत् गरिएको उक्त कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश प्राविधिक समिति संयोजक प्रभात सुवेदी, लुम्बिनी प्रदेशका स्टान जिल्ला कमिटी संयोजकहरू, प्रधानाध्यापक, शिक्षक तथा प्रतियोगी विद्यार्थीको सहभागिता रहेको थियो । साथै उक्त कार्यक्रममा गोरखापत्र संस्थान, कोहलपुर बाकेका पत्रकार प्रदीप ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा स्टान लुम्बिनी प्रदेश संयोजक यमनाथ पौडेलले निबन्ध प्रतियोगितामा सम्मिलित सबै भाइबहिनीहरुलाई बधाइ दिँदै, आगामी दिनमा स्टान लुम्बिनी प्रदेशले थप कार्यक्रम ल्याउने जानकारी गराए ।