लागु औषधसहित चार जना पक्राउ

142

काठमाडौँ, २३ भदौ । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्रबहादुर रानासहित दुई जना पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजासहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग२ख ५५२ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका सञ्चालक धनपति सुवेदीलाई १ सय ७० मिलिग्राम ब्राउनसुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १ सय ३० मिलिग्राम र सोही नगरपालिका–५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरी, भिमफेदी गाउँपालिका–१ बागझोराबाट करिब १ सय ६० किलोग्राम गाँजासहित चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेकबहादुर गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा२०च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेपछि बागझोराबाट कारलाई नियन्त्रणमा लिइ जाँच गर्दा उक्त लागुऔषध फेला पारी चालकलाई पक्राउ गरेको हो । साथै कारमा सवार हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ बाराहाबाट अवैध गाँजा (करिब २५ किलोग्राम) बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लिमचुङबुङबाट खटिएको ‍प्रहरीलाई देख्नासाथ स५प २९२६ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपछि मोटरसाइकलमा लोड गरी ल्याएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार मानिसको खोजी भइरहेको छ ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...