काठमाडौँ, ५ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद् पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
ललितपुरमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद् पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन् । उनले चुनावका लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिए ।
पालिका निर्वाचनको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपालियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लंघन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह गरे ।
‘जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचारसंहिता उल्लंघन गरेको पनि पाइयो । आचारसंहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठुलो भूमिका हुन्छ,’ उनले भने ।
थपलियाले चुनावका लागि सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको बताए ।
उनले अबको चुनावमा कुनै पनि मतदान केन्द्रमा दोहोरिएर मतदान नहुने गरी सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिए । जहाँ घटना हुन्छ, त्यहीँ कारबाही गर्न सरकारसँग आग्रह गरिएको उनको भनाइ छ ।