ईयूले हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हटाउने पर्यटनमन्त्रीको विश्वास
काठमाडौँ, १ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् ।
नेपाल हवाई यातायात नियन्त्रण संघले बुधबार आयोजना गरेको २१औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू)को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हटाउने विश्वास व्यक्त गरे ।
नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्दै उनले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए ।
उनले भने, ‘अन्त नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्ने छ ।’
ईयूको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताए ।
सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ ।
मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताए ।