काठमाडौँ, १ भदौ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो । सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रवक्ता रूपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा दिपेश कार्की रहेको खड्काले जानकारी दिए ।
जबरजस्ती फोहोर बञ्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । फोहोर बोलेको गाडीका लागि सुरक्षाका लागि बञ्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउन्ड हवाई फायर गरेको थियो ।