अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो

313

खाँदबारी, ३१ साउन । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ । अपर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो ।

एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

त्यस्तै, हटिया ८, ९ र चेपुवा १ को अलैची बालीसहितको जग्गा प्रतिरोपनी रु नौ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख कायम गरिएको छ । जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । जलविद्युत् आयोजनाको लागि भोटखोलामा दुई हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिँदै छ ।

दुई खर्बको लगानी, ६ वर्षमा बनिसक्ने

आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरू हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नम्बर २ र ४ मा हुने छ ।

सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्बभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरू हुने छ । हाइड्रोपावर निर्माण सुरू भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ ।

आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने छ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...