वामदेव गौतमले प्युठानबाट संसदीय निर्वाचन लड्ने

88

काठमाडौँ, ३१ साउन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघीय चुनावमा प्युठानबाट प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्न सहमत भएका गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका हुन् ।

२०७४ मा बर्दिया–१ बाट चुनाव लडेका गौतम यसपटक प्युठान फर्किन लागेका हुन् ।

निकट स्रोतका अनुसार सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाए पनि आफूलाई प्युठान सजिलो हुने गौतमको भनाइ छ ।

२०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । त्यसपछि २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा (एमाले)को मत ३९ हजार ८७७ छ । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, राष्ट्रिय जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।

सत्ता गठबन्धनका दलहरूको मत जोड्दा एमालेभन्दा बढी हुने भएपछि गौतमले प्युठानमा आफू सुरक्षित हुने ठानेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...