- थम्मन थापा
बागलुङ । नेकपा (एमाले) गलकोटले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरूद्धमा विरोध प्रदर्शन गरेको छ । एमाले संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा ‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’ भन्ने मूल नाराका साथ गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा गठबन्धन सरकारले बढाएको महँगी, भ्रष्टाचार, राष्ट्रघातको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम गरेको एमालेले जनाएको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम नेपालीले गठबन्धनरूपी नाग आम नेपाली जनता माझ लाज पचाएर घुमिरहेको बताए । पाँच दलीय गठबन्धनले आफ्नो शक्ति र सत्तालाई जोगाइरहन नेपाली जनताको रगत र पसिनामा खेलिरहेको आरोप लगाए ।
अहिलेको गठबन्धन भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनको टपरी चाटेर देश बेच्ने कुचेष्टामा लागेको र देशको सार्वभौम र स्वाभिमानमाथि आँच पुर्याइरहेको उल्लेख गरे । नेता नेपालीले देशलाई टुक्रा टुक्रा पारी छिन्नभिन्न पारेर नेपाली जनतामाथि आहाल खेलिरहेको भन्दै दलालहरूलाई अब खबरदारी गरिरहने र देश जोगाउनका लागि राष्ट्रभुक्ति र देशभक्तिहरु एकजुट हुनु पर्नेमा जोड दिए । यो सरकारले महँगी दिनका दिन बढाइरहेको सन्दर्भमा गठबन्धनरूपी विदेशीका दलालले चामल, तेल, नुन, चिनी किनेर खानु पर्दैन भन्दै प्रश्न समेत गरे ।
सभामा बोल्दै एमाले गण्डकी प्रदेश समिती सदस्य मञ्जु शर्मा चालिसेले सत्तामा बसेर बाँडीचुँडी खान र नातापातालाई पोस्न सेटिङमार्फत् सत्ता गठबन्धन बनेको बताइन् । सपना नदेखी र सपना नदेखाई देश नबन्ने भन्दै महँगी, भ्रष्टाचार र बेथिती र राष्ट्रघातका विरूद्ध नेकपा एमाले सडकमा उत्रेको उल्लेख गरिन् ।
नेतृ चालिसेले गलकोट नगरमा दुई तिहाइको नेपाली कांग्रेसको सरकारले जनताको पक्षमा केहि काम गर्न नसकेको र आम नागरिकका समस्या ज्यूँको त्यूँ रहेको बताइन् । नगरभित्रको सडक, शिक्षा, स्वास्थ्य जताजतै बेथिती र भ्रष्टाचार मौलाइरहेको भन्दै खबरदारी गर्नुपर्ने उनको धारणा थियो । गलकोट नगरको स्थानीय न्यायपालिका, न्यायिक समितिमा पुरुषवाद हावी रहेको महिलालाई पाखा लगाउने काममा गठबन्धन सरकार तल्लीन रहेको आरोप उनले लगाइन् ।
त्यस्तै, नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले दक्षिणपन्थी र वामपन्थी शक्ति छुट्टाउनुपर्ने बेला आएको बताए । उनले राजनैतिक बाटो प्रष्ट हुनुपर्ने बताउँदै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी गठबन्धनको नाममा नेपाली कांग्रेसको लहै लहैमा लागेर अँध्यारो सुरुङभित्र हाम फालिरहेको बताए ।
नेता उप्रेतीले अरुको लहैलहैमा लागेर उनीहरूले जे भन्छन् त्यही मानेर गठबन्धनको सरकारले देशलाई भड्खालोमा हाल्न लागेको आरोपसमेत लगाए ।
नेकपा एमालेले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरूद्ध नारा र जुलुससहित हटिया बजार परिक्रमा गरी जिपपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।