काठमाडौँ, २५ साउन । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई निर्देशन दिएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा समितिको सहजीकरण बैठक राख्दै सभामुख सापकोटाले आफ्ना तर्फबाट छानबिनमा सहयोग हुने बताए ।
‘तपाईंहरू स्वायत्त हुनुहुन्छ । काम अघि बढाउनुस् । सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरूलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
बैठकमा सभामुख सापकोटा, उपसभामुख पुष्पा भुसाल, सचिव लक्ष्मीप्रसाद गौतमसहित समितका सदस्य उपस्थित थिए ।
जबराविरूद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले साउन २२ मा समितिमा पठाएको थियो । यद्यपि, समितिले हालसम्म अघि बढाएको छैन ।
महाअभियोग सिफारिस समितिले बढीमा ३ महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसद्मा पेस गर्ने समयसीमा पाएको छ ।
महाअभियोग अध्ययन समितिमा ११ सदस्य छन् । समितिमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सांसद् लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल छन् । यस्तै, नेपाली कांग्रेसबाट मिनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन् ।
प्रधानन्यायाधीश जबराविरूद्ध सत्ता गठबन्धनका ९८ सांसद्ले १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।