नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

139

काठमाडौँ, २४ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइ नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए ।

उनले भने, ‘वनको दिगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र वैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।’

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षणलगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दाबी गरे ।

मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जीविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदिवासी जनजाति वर्गलाई सामाजिक मूलप्रवाहीकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सद्भाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

यसैगरी, मन्त्री यादवले हाल विविध कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरू विशेषतः मधेसी, दलित, जनजाति, आदिवासी तथा मुसलमानहरूको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पूरा गर्नु पर्ने धारणा अघि सारे ।

मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरू बमोजिक व्यवस्थापनका लागि नेपालमा करिब २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिब २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिए ।

मन्त्री यादवले विषेश गरी तराई तथा मधेसका नजिक एवं टाढा दुवै स्थानमा बस्ने उपभोक्ताहरूको काठ, दाउरालगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनत गर्नु बताए । विश्वमा नै नमुनाको रूपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराए ।

Share This:
सम्बन्धित खबर
Loading...