निर्मला प्रकरणमा मुछिएका दिलिपले किशोरीलाई दुर्व्यवहार गरेको आरोप

176

काठमाडौँ, २३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा मुछिएका दिलिपसिंह विष्टले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

भगतपुर ब्यारेक–उल्टासाम सडक खण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई विष्टले जिस्काउने र हैरानी पार्न थालेको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए ।

पन्तको शव भेटिएको ठाउँ नजिकै विष्टले कक्षा १२ मा अध्ययनरत एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीकोमा पुगेका छन् ।

महेन्द्र माविमा कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई विष्टले बाटो ढुकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । उक्त घटना साउन १२ गतेको हो ।

मृत भेटिएकी पन्तको साइकल भेटिएको भन्दा करिब ७० मिटर टाढा कल्भर्टमा विष्टले ती छात्रालाई दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । विष्टबाट दुर्व्यवहार परेको भन्दै २ पटकसम्म प्रहरीकोमा जाहेरी लिएर जाँदा जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ ।

तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चौधरीले भने जाहेरी नआएको दाबी गरे ।

विष्टको पछिल्लो हर्कतले किशोरी तथा बालिकाहरूले असुरक्षा महसुस गर्न थालेका छन् भने अभिभावक पनि त्रसित भएका छन् । हाल निर्मला प्रकरणमा अनुसन्धान गर्न खटिएका सिआइबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । त्यही प्रकरणमा संलग्नता रहेको भन्दै हत्या भएको भन्दै २५ दिनपछि प्रहरीले विष्टलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो । तर, २०७५ भदौ २६ मा जिल्ला अदालतले संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि बाहिर आएका थिए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख समेत रहेका डीएन विशेषज्ञ जीवन रिजाल सम्मिलित स्वतन्त्र छानबिन टोलीले यो घटनामा डीएनए संकलनमा त्रुटिपूर्ण भएकाले डीएनएबाट दोषी पत्ता नलाग्ने भन्दै डीएनएलाई छाडेर अनुसन्धान गर्न सुझव दिएको थियो ।

मानव अधिकार आयोगको टोलीले पनि डीएनएबाहेकको माध्यमबाट अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

४ प्रहरी महानिरीक्षक (आइजी) फेरिँदा पनि घटना जहाँको त्यहीँ छ । जिम्मेवारी सम्हाल्नेबित्तिकै सबै आइजी निर्मला पन्तको हत्यारा आफ्नै कार्यकालमा समातिने दाबी गर्दै आएका छन् । तर, अहिलेसम्म प्रहरीले हत्यारालाई कानुनी दायरामा ल्याउन सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...