प्रचण्डले भने– सिन्जो आवेलाई भेट्ने इच्छा पूरा भएन, दुःखी छु

135

काठमाडौँ, २१ साउन । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका पूर्वप्रधानमन्त्री (दिवंगत) सिन्जो आवेसँग भेट्ने इच्छा पूरा नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।

शनिबार बिहान जापान पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले टोकियोमा सञ्चारकर्मी र प्रवासी नेपालीसँगको कुराकानीमा आवेलाई भेट्ने आफ्नो इच्छा भएपनि ‘दुर्भाग्यपूर्ण घटना’मा उनको निधन भएकाले त्यो पूरा हुन नसक्ने अवस्था सिर्जना भएको बताए ।

“म जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने आवे जो पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई भेट्ने भनेर मैले मिलाउन कोसिस गर्दै थिएँ, जापानको राजदूतसँग पनि नेपालमा दूतावासमार्फत् पनि कुरा भएको थियो,” उनले भने, “किनकि पूर्वप्रधानमन्त्रीका हैसियतले उहाँ भ्रमण गर्द मसँग २÷३ पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एकअर्काप्रति एउटा अन्तरक्रिया राम्रो थियो र उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई उचाइमा कसरी लाने भन्ने मेरो इच्छा थियो, त्यो चाहिँ पूरा भएन ।”

प्रचण्डले आफ्नो जापान भ्रमणका क्रममा राजनीतिक दलका नेता र सांसद्हरूसँग केही छलफल हुने बताएका छन् । उक्त छलफलबाट नेपाल–जापान सम्बन्धलाई अझ अगाडि बढाउन सकिने सहयोगका विषयमा आफ्नो ध्यान हुने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...