नेपालले भन्यो– ताइवानको तनाव शान्तिपूर्ण रूपले समाधान होस्

141

काठमाडौँ, २० साउन । नेपालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पत्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने बताएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै समाधान हुनुपर्ने पक्षमा रहेको बताइन् ।

यसैगरी नेपालले सदैव ‘एक चीन नीति’को समर्थन गर्दै आएको पनि उनले बताइन् । ‘दुवै देश एक–अर्कालाई सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता पक्षमा छौँ । नेपाल सधै अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेका छ,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा यस विवादबारे कुनै छलफल नहुने उनले बताइन् । ‘यो विवाद हालैको हो । परराष्ट्रमन्त्रीको भ्रमण निकै अघि तय भएको हो । त्यहाँ यसबारे कुनै छलफल हुनेछैन,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री खड्का तीन दिन चीन भ्रमणका लागि साउन २४ मा चीन जाँदै छन् ।

यस्तै, स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे संसद्मा नै परराष्ट्रमन्त्री खड्काले जानकारी दिइसकेको भन्दै उनले यसबारेमा थप बोल्न नमिल्ने बताइन् ।

यसैगरी, २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ जना राजदूतहरूको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरू नियुक्त भएर गइसकेको तथा म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...