काठमाडौँ, १९ साउन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
‘२०७९ मसिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुने छ ।’
यसअघि निर्वाचन आयोगले मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव दिएको थियो । तर, उक्त दिने शुक्रबार पर्ने र शुक्रबारका दिन निर्वाचन गर्न मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले दुई दिनपछि मिति तय गरिएको बताइएको छ ।
निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउनमा परिणत भएको छ ।
यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो ।