मुम्बइ उड्न लागेको जहाजबाट पक्राउ परेका व्यक्ति को हुन् ?

171

काठमाडौँ, १८ साउन । शंकास्पद व्यक्ति सवार रहेको प्रहरीको सूचनापछि रोकिएको नेपाल एयरलाइन्सको जहाज २ घन्टापछि भारतको मुम्बइ उडेको छ ।

बुधबार दिउँसो १ः१० बजे मुम्बइ उड्ने तालिका रहो नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले उडान भर्न ढोका बन्द गरिसकेको अवस्थामा रोकिएको थियो ।

विमानमा शंकास्पद व्यक्ति सवार रहेको सूचनापछि सबै यात्रुलाई ओरालेर चेकजाँच गरिएको थियो । प्रहरीले मुम्बइ जान लागेका कैलालीको धनगढी उपमहानगरपालिका–२ का सन्तोष लामिछानेलाई विमानबाटै पक्राउ गरेको हो । उनी आफ्नी श्रीमतीसँग मुम्बइ जान लागेका थिए । सन्तोष पक्राउ परेपछि उनकी श्रीमती पनि विमानबाट ओर्लिएकी छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सन्तोष गहना व्यवसायी हुन् । कैलालीमा गहना पसल चलाउँदै आएका उनी चोरी तथा तस्करीको सुन किनेर बिक्री गर्ने कार्यमा संलग्न थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको खोजी सूचीमा रहेका उनी काठमाडौँबाट मुम्बइ उड्न लागेको सूचना प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा आइपुगेको थियो । कैलाली प्रहरीको सूचनाअनुसार नै विशेष ब्युरोको टोली सन्तोषलाई पक्राउ गर्न विमानस्थल पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले सन्तोष अन्य गतिविधिमा भन्दा भन्सार छलीको सुन किनबेचमा संलग्न व्यक्ति भएकाले कैलाली प्रहरीको सूचनाअनुसार पक्राउ गरिएको बताए ।

उनी श्रीमती मिनासहित उक्त जहाजमा मुम्बइ जान तयार थिए । प्रहरीका अनुसार सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघका सदस्यसमेत रहेका उनलाई अन्य आतंककारी वा शंंकास्पद गतिविधिमा लागेको आधारमा पक्राउ गरिएको होइन ।

अनुसन्धान गर्न प्रहरीले उनलाई कैलाली नै पठाउने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनी भारतमा चोरी गरेर नेपाल आएको समूहमध्येका एक जना हुन् ।

शंकास्पद व्यक्तिको पक्राउपछि विमानमा सवार अन्य यात्रुको पनि पुनः सुरक्षा जाँच गरिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

पुनः सुरक्षा जाँचपछि जहाज पुनः मुम्बइ उडेको थियो । जहाजमा १४१ जना यात्रु रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...