सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका अधिकृत पक्राउ

285

काठमाडौँ, १७ साउन । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ । जिल्लाको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्लाको शिवपुरी गाउँपालिकामा कार्यरत आठौँ तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्ने सूचना आएपछि प्रहरी मसाज पार्लर पुगेर सवारीसाधनसहित मानिसलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ । अहिले नियन्त्रणमा लिइएका सवारीसाधन र मानिसको बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो । सोही क्रममा सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका सरकारी कर्मचारीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

बखुण्डोलका स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले अपरान्ह ४ः३० बजे मोटरसाइकलसहित मानिसलाई नियन्त्रणमा लिएको हो । अब यस विषयमा नुवाकोटको शिवपुरी गाउँपालिकासँग बुझेर पत्र लेखेपछि के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने प्रवक्ता जिसीले बताए ।

शिवपुरी गाउँपालिका नुवाकोटका प्रमुख गोविन्दप्रसाद थपलियाले उक्त मोटरसाइकल आफ्नै कार्यालयको नाममा रहेको भन्दै कुन कर्मचारीले प्रयोग गरिरहेको छ बुझ्नुपर्ने बताए । कार्यालय समयमा सरकारी मोटरसाइकल लिएर मसाज पार्लरमा पुग्नु गलत भएको भन्दै सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियमानुसार कारबाही गर्ने थपलियाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...