नेपालमै पहिलोपटक प्रेममा परेका थिए अमेरिकी सहायक विदेशमन्त्री लु (भिडियो)

81

काठमाडौँ, १४ साउन । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो प्रेम नेपालबाटै सुरु भएको तथ्य खोलेका छन् । पहिलो पटक नेपाल भ्रमणको बारेमा स्मरण गर्दै लुले आफ्नी पत्नीसँग २९ वर्षअघिको प्रेम कथा सार्वजनिक गरेका हुन् ।

अमेरिकी दूतावासले आफ्नो ट्विटरमा सार्वजनि गरेको भिडियोमा सहायकमन्त्री लुले आफ्नो प्रेमकथा नेपालबाटै सुरु भएको बताएका छन् । उनका अनुसार त्यसबेला प्रेमिकासँग १९९३मा भारतको दार्जिलिङ हुँदै नेपाल आएका थिए । करिब १ मिनेट ४१ सेकेन्ड भिडियोमा लुले त्यस समयकी प्रेमिका र अहिलेकी पत्नि एरियल एहार्टसँग नेपाल भ्रमणमा आउँदाको रमाइलो क्षणहरु सम्झिएका छन् ।

लुले भिडियोमा भनेका छन्, “भारतको सीमा काटेर आएपछि हामी सार्वजनिक बसमा चढ्यौँ । त्यतिबेला म एकजना केटी साथीसँग आएको थिएँ । नेपाल आउँदासम्म हामी डेटिङ गइसकेका थिएनौँ । बस चढेर हामी जनकपुर, सौराहा गयौँ । बाँकी नेपाल घुम्दा घुम्दै हाम्रो माया बस्यो । अहिले हामी पति–पत्नी भएका छौँ ।”

अमेरिकी विदेशमन्त्रालयमा काम सुरु गरेका लुको जनस्वास्थ्य विज्ञ एहर्टसँग विवाह २६ वर्षअघि भएको थियो । उनले आफ्नो सन्तानको नाम पनि दक्षिण एसियाबाटै प्रभावित रहेको बताएका छन् । लु दम्पत्तिले आफ्नो सन्तानहरुको नाम आलिया र किप्लिङ राखेका छन् ।

दार्जिलिङबाट रिक्सामा चढेर नेपाल प्रवेश गरेको स्मरण गर्दै लुले भिडियो भनेका छन्, “तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र कठमाडौँ आयौँ । हामीले संकोच मान्दै हाम्रा केटाकेटीलाई बताउनु परेको छ कि गर्मीको कारण हामीले अक्सर ती यात्राहरु बसका छतमा बसेर गरेका थियौँ । त्यसपछि हामीले उनीहरुलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौँ ।”

उनले चितवन निकुञ्जमा जिपमा बसेर अर्ना खोज्दै घुमेको स्मरण पनि गरेका छन् । उनले भिडियोमा पाटनको सम्पदाले आफूलाई लोभ्याएको पनि बताएका छन् । “विश्वको सर्वोकृष्टमध्येका केही खाना चाख्यौँ । हिजो साँझ मैले गज्जबको भेज मःम खाएँ । आज स्वादिलो नेवारी परिकारको खोजीमा रहनेछु,” लुले भनेका छन्, “नेपाल सधैँ मेरो मुटुको नजिकै रहने ठाउँ हो । किनकि पहिलोपटक प्रेममा परेको यहीँ हो ।”

लुलाई सन् २०२१ मा राष्ट्रपति जो बाइडेनले दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । चिनियाँ मूलका बुबा र अमेरिकी आमाका सन्तान लुले पाकिस्तानपछि भारतको नयाँ दिल्लीमा दुईपटक गरेर ६ वर्ष बिताएका थिए ।

भारतमा बस्दा उनले दक्षिण एसियाको भू–राजनीतिसँगै यहाँको कला, संस्कृति र सभ्यता चिन्ने मौका पाए । यो क्षेत्रमा भारतको प्रभाव पनि महसुस गरे ।

Share This:
सम्बन्धित खबर
Loading...