काठमाडौँ, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ ।
शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षण्को जिम्मेवारी पाएका शिक्षक–शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्र र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए ।