अर्थमन्त्री प्रकरण : प्रहरीले छानबिन समितिलाई बुझायो सिसिटिभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

201

काठमाडौँ, ९ साउन । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको विवरण संसदीय छानबिन विशेष समितिलाई बुझाएको छ । समितिलाई उक्त रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले पुष्टि गरेका छन् ।

प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।

‘फरेन्सिक ल्याबले आज विवरण दिएको छ अब भोलि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने छ,’ उनले भने ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज माग गरेको थियो । सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जबाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ । आइतबार बसेको समिति बैठकले पूर्व र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो ।

शर्मामाथि आर्थिक वर्ष २०७९÷८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ । त्यस प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठबन भएको हो ।

समितिलाई पहिलोपटक अनुसन्धानका लागि १० दिनको समय दिइएको थियो । त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुंगिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो । थपिएको सात दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...