काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको भन्दै पुनर्विचार गर्नु पर्ने तर्क गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए ।
‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,’ उनले भने, ‘एउटा गाउँपालिका अध्यक्षले १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५०औँ करोड खर्च गर्नुपर्ने भयो । यस्तो निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भडँखोलामा लैजान्छ ।’
अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको उनले दाबी गरे ।
प्रचण्डले भने, ‘सांसद् हुने बेलामा करोडौँ खर्च गरेर किन हुन्छ त मान्छे ? किनभने संसद् नभइ मन्त्री हुन पाइँदैन, प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौँ खर्च गर्छन् । सांसद् भएपछि लगानी उठाउनुपर्यो । भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहीत छ ।’