काठमाडौँ, ६ साउन । नेकपा (एमाले)का नेता भीम रावलले नागरिकता ऐन संशोधन विधेयकको दफावार छलफलमा भाग दिँदै ‘छलफल हो कि छल हो’ भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै उनले अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।
रावलले कवितामार्फत् आफ्ने कुरा यसरी राखेः
छलफल हो कि छल मात्रै हो यो हतारो किन हो
खोलेर आँखा देशहितका लागि राम्ररी सुन यो
के तिमी सधैँ सत्मा हुन्छौँ देशभन्दा आयु छ
संवेदनाहीन बुझ्दैन किन स्वधीनता दाउँमा छ
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।
रावलले विशाल जनसंख्या भएका दुई वटा देशको बीचमा संवेदनशील भूराजनीतिक अवस्थिति रहेको उल्लेख गर्दै जनसंख्याको राजनीतिमा पारेर नेपाललाई दीर्घकालीन संकटमा पार्ने ठुलो भूमरी सिर्जना गरिएको बताए ।
‘संविधान निर्माणताका प्रमुख राजनीतिक दलहरु र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ उनले भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भूराजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।’
रावलले विधेयकमा ६ वटा संशोधन प्रस्ताव राखेका छन् । उनले स्वतन्त्र, स्वधीन र सार्वभौम देशले नागरिकताका विषयमा सोच्ने बताए ।