माओवादीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य– सत्ताको चस्नीले नागरिकताको रंग फेरियो

104

काठमाडौँ, ६ साउन । नेकपा (एमाले)का सांसद् गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा (माओवादी केन्द्र)प्रति व्यङ्ग्य गरेका छन् । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि हाल सो प्रावधानबिना नै नागरिकता दिने विषयमा सहमति जनाएपछि सांसद् बास्कोटाले व्यङ्ग्य गरेका हुन् ।

‘ट्रकमा चढेर आउ, ट्रेनमा चढेर मेरो मुलुकमा आउ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ । तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ उनले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन्, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसद्‍बाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखेका हुन् ।

बास्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन् ।

‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएजस्तो नहोस्,’ उनले भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...