छानबिन समितिले जनार्दन शर्मासँग लियो ३ घन्टा बयान, भन्छन्– सबै प्रश्नको जबाफ दिएँ

150

काठमाडौँ, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले आज शर्मासँग बयान लिएको छ । बयान झन्डै ३ घन्टासम्म चलेको थियो ।

बिहीबार बिहान साढे ८ बजेदेखि सुरु भएको बयान साढे ११ बजे सकिएको हो ।

बयानपछि बाहिरिने क्रममा पत्रकारहरुलाई संक्षिप्ट प्रतिक्रिया दिँदै उनले भने, ‘मैले उहाँहरुले सोधका प्रश्नको जबाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपबारे ११ सदस्यीय संसदीय विशेष समितिले छानबिन गर्दै आएको छ । सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको थियो ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसैबीच शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले म्याद थप्न माग गरेको छ ।

बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै समितिका सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए ।

प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखि गणना हुनेगरी १० दिनको समय दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...