काठमाडौँ, ५ साउन । अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अध्ययन भइरहेको बताएकी हुन् ।
एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएपछि कहाँ– के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने उनले जानकारी दिइन् । “एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिट्ठी पठाइन्छ । विपद् व्यवस्थापनलगायतमा के–केमा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ,’ उनले भनिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्ने सुनिश्चित नभएको उनले जानकारी दिइन् । “परराष्ट्र पहिले एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुवै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ । दुवै पक्षलाई अनुकुल नभइ मिति घोषणा गर्ने कुरा आउँदैन,” प्रवक्ता लम्सालले भनिन् ।
उनले संयुक्त राष्ट्रसंघको आउँदो महासभाको बैठकमा सबै देशका सरकार प्रमुख जाने भएकाले यसपटक नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको जानकारी दिइन् । उच्च तहमा कुन तहका व्यक्ति जाने भन्ने मन्त्रिपरिषद्ले गरेपछि टुंगो लाग्ने उनले उल्लेख गरिन् ।