बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छ : प्रचण्ड

248

काठमाडौँ, ३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । आज राजधानीमा डा.भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष रहेका डा.भट्टराईलाई केही दिनअघि पार्टीले कारबाही गरेको थियो । जसपाले भट्टराईलगायत केही नेतालाई पार्टीबाट निष्कासन गरेको थियो ।

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौँ, भोलिपर्सीसम्म एउटा टुंगोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उद्देश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...