काठमाडौँ, ३२ असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौँरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर बनेर वामपन्थी हुन नसक्ने बताएका छन् ।
नेपाल–चीन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पहल गर्न आग्रह गरेपछि उनले त्यसका लागि गठबन्धन छाडेर आउन आग्रह गरेका हुन् ।
‘यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकता गर्न आउँन आग्रह गर्छु । चौँरीको चुच्छरजस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मुद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसद्बाट सकेनौँ त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?,’ उनले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धनको रक्षा गरेर वामपन्थी हुन नसकिने ओलीले बताए ।
‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको रक्षा गरौँ अनि वामपन्थी ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्। गल्ती भइहाल्यो ल छाडिदिउँ,’ ओलीले भने, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानुनी राज्यको पक्षमा उभिने सरकार बनाउँ र अघि बढौँ ।’
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान् सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको बताए ।
उनले भने, ‘दिग्गज हौँ भन्ने नेताले भूभाग छोडे । भौगोलिक अखण्डता भनिरहने तर अखण्डताको कुरा नगर्ने काम भयो । चुच्चे नक्सा छापेपछि सौदावाजी हुन्छ । अपवित्र साँठगाँठ हुन्छ भन्ने मलाई थाहा थियो । ६० वर्षदेखि हाम्रो भूभागमा भारतीय भौज छ ।’