काठमाडौँ, ३२ असार । नेकपा (एमाले) नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले बालेन्द्र साह (बालेन)लाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् ।
केही दिनअघि आफ्नो निवासमा पुगेका हालका मेयर साह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।
‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोष्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौँले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो ।’
स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेट्न आएको जस्तो देखिन्थे । ‘यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौँ बिगार्छौँ भनेको छु । मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’