मापदण्डमै रहेर ल्याबहरु सञ्चालन हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री केसी

120

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले कीर्तिपुरस्थित आर्युवेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्याबको निरीक्षण गरेका छन् ।

शुक्रबार स्वास्थ्य राज्यमन्त्री केसीले दुवैको ल्याव अनुगमन गरेका हुन् । आर्युवेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको बृहत् विकासका लागि आफू संवेदनशिल भएको बताए ।

उनले नेपालमा पाइने जडीबुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको भन्दै प्रशंसा गरे । मन्त्री केसीले भने, “अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषय प्रति सजग छौँ । धेरै जसो कर्मचारीहरु करारमा हुनुहुँदो रहेछ । यस विषयलाई मैले गम्भीर रुपमा लिएको छु ।” उनले नेपालमा उत्पादन भएका करोडौँ रुपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरुरी रहेको बताए ।

हाल केन्द्रमा एक जना ११औँ तहका कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । अन्य सबै कर्मचारीहरु करारमा काम गर्दै आएका छन् ।

यस्तै, नेसनल प्याथ ल्याबको अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले मापदण्ड नपुगेको ल्याबले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठ्ने बताए ।

उनले भने, “अहिलेपनि केहि प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको छ । मापदण्डमा रही प्रकृयाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छौँ । नत्र भने कारबाही गर्नुको विकल्प छैन ।” सरकारी अस्पतालहरुले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको बताए ।

स्वास्थ्य प्रयोगशाला स्थापना सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३ जारी भएको छ । अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाको पनि उपस्थित रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...