काठमाडौँ, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेको एम.अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।
एमाले कार्यालयका सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेको व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।
एम. अधिकारीको विषमा प्रश्न उठेपछि गभर्नरले स्पष्ट पारिदिन बुधबार एमालेलाई पत्र पठाएका थिए । त्यहीँ पत्रको जबाफ दिँदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।
गभर्नर अधिकारीलाई एमालेले पठाएको पत्रमा भनिएको छ– ‘यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चार माध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनि भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धाराण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थः उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’
सात वर्षअघि पनि अधिकारी र एमाले पत्राचार
पार्टीको सदस्यता रहे नरहेको बारे सात वर्षअघि पनि एमाले र गभर्नर अधिकारीबीच पत्राचार भएको थियो ।
२०७३ जेठ २५ गते भएको पत्राचारमा गभर्नर अधिकारीले आफू कुनै राजनीतिक दलको सदस्य नरहेको र त्यस्तो सदस्यता लिने मनसायसमेत नभएको भन्दै नाम हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।
अधिकारीले पठाएको उक्त पत्रको २०७३ असार २० गते तत्कालीन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जबाफ दिँदै भुलवश नाम पर्न गएको बताएका थिए ।