नास्टलाई मानित विश्वविद्यालयका रुपमा काम गर्न शिक्षामन्त्रीको आग्रह

75

काठमाडौँ, ३० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्राज्ञसभामा आज बौल्दै उनले विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने बताए ।

उनले नास्टले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताए ।

उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवर्द्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पुर्‍याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गरे ।

पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवर्द्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पुर्‍याएको योगदान स्मरणयोग्य भएको पनि उल्लेख गरे ।

सभामा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्न सातवटै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र राख्ने निर्णय समेत भएको छ । प्रदेश १ को विराटनगर, मधेस प्रदेशको बर्दिवास, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर राख्ने प्रस्ताव गरिएको थियो ।

सभामा नेपाल सरकारबाट आर्थिक वर्ष २०७९÷८० का लागि छुट्टिएको २० लाख बजेट पुर्‍याउने र थप बजेटका लागि सरकारसँग पहल गर्ने निर्णयसमेत भएको छ । सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...