काठमाडौँ, २९ असार । पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद् पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार (३१ असार)मा निर्वाचन हुँदै छ । संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि डिला संग्रौलालगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन् ।
भुसालले भने उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । तर, उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेको कांग्रेसका नेताहरु बताउँछन् ।
भुसाल कानुन व्यवसायी पनि हुन् । उनलाई उपसभामुख बनाउन खोज्नुलाई अर्थपूर्ण मानिएको छ ।
संवैधानिक परिषद्बाट संवैधानिक नियुक्तिका लागि प्रक्रिया पुयाउन उपसभामुख बनाउन खोजिएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री पदेन अध्यक्ष हुने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य हुन्छन् ।
उपसभामुख नियुक्ति भएमा संवैधानिक परिषद्को नियुक्तिमा ६ जनामध्ये ४ जना एमालेबाहेकबाट हुनेछन् ।
सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख माओवादी केन्द्रका तर्फबाट सांसद् निर्वाचित अग्निप्रसाद सापकोटा छन् ।