राप्रपानिकट विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

466

काठमाडौँ, २७ असार । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग सरकारलाई बुझाएको छ ।

राप्रविसंका अध्यक्ष धनसुर शाहीको नेतृत्वमा गएको संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो ।

शिक्षामन्त्रीलाई सोमबार दिइएको ज्ञापनपत्रमा सनातन धर्मविरुद्धका विषयहरुको पठनपाठनमा तत्काल रोक्न माग गरिएको छ ।

राप्रविसंले १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको छ । यस्तै, शिक्षाको व्यापारीकरण नियन्त्रण गर्न र समुदायस्तरका विद्यालयको स्तरोन्नति गर्नसमेत राप्रविसंले सरकारसँग माग गरेको छ ।

‘विद्यार्थी भर्ना भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक र पाठ्य सामाग्री नपाउनु चिन्ताको विषय हो, सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसै सन्दर्भमा शैक्षिक क्षेत्रको समग्र सुधार र विकासका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका हौँ,’ राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले भने ।

गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...