धनगढी, २७ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावअघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला समाजवादी प्रेस संगठन नेपाल कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् ।
‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ उनले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ एकीकृत समाजवादी पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताए । उनले एकीकृत समाजवादी अन्य पार्टीजस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने पार्टी नभएको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताए ।
‘यहीरुपमा हामीले पार्टी निर्मााण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ,’ उनले भने, ‘पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।’