काठमाडौँ, २३ असार । नेकपा (एमाले)का सांसद् डा.भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद् रावलले यस्तो बताएका हुन् । उनले कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताए । सांसद् रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसद्मा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई द्वन्द्वमा धकेल्नका लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए ।
उनले सत्ता पक्षकै सांसद्ले पत्र नपठाएको कुरा संसद्मा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जबाफ दिन आवश्यक रहेको बताए । सांसद् रावलले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको बताए ।
उनले नेपालको परराष्ट्र नीति नेपालको संविधानबमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथि घात हुने बताए ।