काठमाडौँ, २३ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रक्रियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।
राजधानीमा आयोजित ‘आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेदवारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताए ।
नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ । त्यसले हाम्रो व्यवस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए ।
उनले भने, “निर्वाचन कानुन र आचारसंहिता धेरै छन् । कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उमेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ । अहिले त्यो खर्चमा एक दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।”
कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख भोजराज पोख्रेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हास्यात्मक भएको बताए ।
उप्रेतीले भने, “अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गए । उमेदवारको खर्च तीव्र गतिमा बढेको छ । आयोगको एउटा मापदण्ड छ । मापदण्ड एकातिर छ उमेदवारको खर्च अर्कातिर छ । कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो कि यो खर्च सीमा हटाउनु पर्यो । नत्र त यो हास्यात्मक मात्र भयो ।”
कार्यक्रममा पलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपाल कृष्ण घिमिरेलगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा आ-आफ्नो भनाइ राखेका थिए ।