काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई–चार जना व्यापारिक घरानाको अनुहार झल्किने भन्दै प्रधानमन्त्रीसँग जबाफ मागेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरु ?’ भनेर धम्क्याएको बताए । उनले को हुन् भनेर थर्काउने बेलासम्म भएको सिसिटिभी फुटेज अहिले आएर डिलिट भएको भन्दै गृहमन्त्रीको समेत ध्यानाकर्षण गराए ।
‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरु भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिञ्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला,’ उनले भने ।
उनले मन्त्री स्वच्छ भए फुटेज देखाउनतर्फ लाग्ने बताउँदै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका हुन् ।
एमालेले बजेट निर्माणमा जिम्मेवारी बाहिरका मान्छेलाई लगेर करको दर हेरफेर गरेको आरोप लगाउँदै आएको छ ।
पूर्वप्रधानमन्त्री ओलीले यही प्रकरणको फुटेज अर्थ मन्त्रालयले डिलिट गरेको बताएका हुन् । यसको छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
ओलीले भने, ‘यस विषयमा संसदीय समिति बनाऊ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन । योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’
मन्त्रीहरुले लापरबाही ढंगले काम गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा जवाफदेही बन्न नसकेको आरोप पनि उनले लगाए । उनले भने, ‘अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन । संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ ।’