काठमाडौँ, १५ असार । निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोसीमा पानीको बहाव १ लाख ७८ हजार ५९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।
लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ ।
सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही बस्ती डुबानको जोखिममा परेको स्थानीयहरू छन् ।