काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् ।
नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ भन्नुपर्ने उनको भनाइ छ । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने तर जिलमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए ।
नेपाल गरिब राष्ट्र भएकाले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनले बताए । नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताए ।