काठमाडौँ, १५ असार । दुई दिन लगातार दोहोरो अंकले घटेको सेयर बजार बुधबार ४१.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सूचक नेप्से ४१.३९ अंकले वृद्धि भएर एक हजार ९६२.७२ बिन्दुमा पुगेको हो ।
क वर्गका कम्पनीको मपन गर्ने सेन्सिटिभ सूचक पनि आज ६.५५ अंकले बढेको छ ।
२२८ कम्पनीको सेयर कारोबारमा ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख बराबरको कारोबार भएको छ । यस्तै, आज नेप्से बढेपछि कारोबार रकम पनि बढेको हो । मंगलबारको तुलतामा बुधबार कारोबार रकम ३७ करोड ३२ लाख रुपैयाँ बढेको छ । मंगलबार दिनभर १ अर्ब ५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस्तै, आज कारोबारमा आएका कम्पनीहरुमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त र सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशत मुनाफा हात पारेका छन् ।
वरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.४५ प्रतिशतले बढेको छ ।
गुमाउने लगानीकर्ताले १.९१ प्रतिशतसम्म गुमाउँदा ङादी ग्रुप पावर कम्पनीको ५ करोड ४२ लाखको सर्वाधिक कारोबार भएको छ ।