बुटवल, १५ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।
माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन् ।
एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समितिसमेत गठन भएको थियो ।
पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।
फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।