माथिल्लो अरुणमा सङ्खुवासभावासीले क्षमताअनुसार सेयर हाल्न पाउनु पर्छ : अर्जुन कार्की

208

काठमाडाैँ, १२ असार । अमेरिकाका लागि पूर्वराजदूत तथा गैसस महासंघका अध्यक्ष डा.अर्जुन कार्कीले सङ्खुवासभा जलविद्युत्‌को क्षेत्रमा नेपालको पावर हाउस बन्ने दाबी गरेका छन् ।

सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसाेसिएसनको कार्यालय ज्ञानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जलस्रोतको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका परियोजना सङ्खुवासभामा भएको बताए । सबैको ध्यान सङ्खुवासभाको जलविद्युत्‌मा केन्द्रित भएको भन्दै जलस्रोतको समुचित विकासबाट मात्र जिल्लासँगै मुलुक समृद्ध बन्ने बताए ।

उनले अध्ययनको अन्तिम चरणमा पुगेको सङ्खुवासभाको भोटखोलास्थित माथिल्लो अरुण आयोजनामा सङ्खुवासभावासीले चाँहे जति र क्षमता भएसम्म सेयर हाल्न पाउनु पर्ने माग पनि गरे ।

उनले भने,‘नेपाल सरकारले र स्वदेशी पुँजीले बनाउनु पर्छ । यसमा अधिकतम् लाभ भोटखोलावासीले पाउनु पर्छ । यो मैले विगत २७ वर्षदेखि उठाउँदै आएको कुरा हो । सेयर हाल्न पाउनु पर्छ भन्ने कुरा सामान्य हो, तर योसँगै सङ्खुवासभावासीले पाउने भौतिक पूर्वाधार र हक अधिकारका कुरा पनि महत्वपूर्ण रहेको छ ।’

परियोजनाबाट स्थानीय जनताले धुँवा र धुँलो मात्र पाउने हो भने उक्त परियोजनाको कुनै अर्थ नभएको उनको भनाइ छ । उनले आयोजनाबाट अधिकतम् लाभ आयोजना स्थलवासीले पाउनुपर्ने उनले बताए । ‘आयोजना बनेपछि त्यसको लाभ सरकारले लिन्छ । तर, त्यति मात्र हैन, त्यसको केही प्रतिशत भोटखोलाबासी र सङ्खुवासभावासीलेसमेत पाउनु पर्छ ।’

डा.कार्कीले आफूलाई माथिल्लो अरुण विश्व बैंकलाई दिन लागिपरेको आरोपप्रति खण्डन गर्दै भने, ‘म कुनै प्रोजेक्ट एजेन्सीलाई दिने ठाउँमा छैन, हस्ताक्षर गर्ने ठाउँमा छैन, प्रोजेक्ट दिने सरकारको कुनै निकायमा छैन, यो हावादारी कसरी पत्याउन सकिन्छ ?’ उनले सङ्खुवासभावासीको इज्जत र प्रतिष्ठामा आँच आउने गरी कुनै काम नगर्ने प्रतिबद्धता जनाए । विभिन्न थरिका आरोपले आफूलाई केही फरक नपर्ने पनि उनको प्रष्टोक्ति थियो ।

राष्ट्रिय गौरवको आयोजना जिल्लामा बन्दै गर्दा आफ्ना हक अधिकारका बारेमा अझै गाउँघरसम्म चेतना पुग्न नसकेको बताउँदै माथिल्लो अरुणको विषयमा जनतालाई बुझाउन सक्नु पर्ने उनको भनाइ थियो ।

सो आयोजनामा नेपालका बैंक, सञ्चयकोष, नागरिक लागनी कोष, एचआइडीसीयललगायतका संस्था पनि लगानी गर्न तयार रहेको उनले बताए । विश्व बैकले ५ सय मिलियन लगानी गर्न चाहेको पनि उनले सुनाए ।

जिल्लामा ठुल्ठुला परियोजना र पूर्वाधार बनुन् भन्ने चाहना रहेको उनको भनाइ छ । उक्त प्रोजेक्टको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरका सडक बनाएर सङ्खुवासभालाई विकासको हब पनि बनाउन सकिने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...